दोस्रो मैत्रीपूर्ण खेलमा बङ्गलादेश र नेपालको बराबरी, श्रृंखला बङ्गलादेशको पक्षमा
काठमाडौं - नेपालले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको छ। अन्तिम समयमा नेपालले पाएको सुनौलो अवसर गुमाउँदा बंगलादेशसँग बराबरी खेलेको हो।
राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा आज (मंगलबार) भएको खेलमा नेपालले गोल गर्ने राम्रो अवसर गुमाउँदा बंगलादेशविरुद्ध जित निकाल्न सकेन। पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा पनि गोलरहित बराबरी नै खेल्यो। नेपालले निकै आक्रमक खेलेपनि गोल गर्न भने चुक्यो। एकपछि अर्को आक्रमक खेल खेलेपनि अग्रपंक्तिका खेलाडी चल्न सकेनन्।
डिफेन्सलाई नेपालले पहिलो खेलको तुलनामा सुधार गरेपनि फरवार्ड र मिडफिल्डका खेलाडी चल्न सकेनन्। खेलको अतिरिक्त समयमा रन्जित धिमालले क्रस पास दिएको बललाई नवयुग श्रेष्ठले हेड गरेको बल बारमा लागेर फर्किएपछि नेपालले अग्रता बनाउने मौका गुमाएको थियो।
बंगलादेशविरुद्ध नेपालका छिरिङ गुरुङ, सेसेहाङ आङ्दम्बे र पुजन उपरकोटीले डेब्यु गरे। यसअघि पहिलो खेलमा नेपालका तीन खेलाडीले बंगलादेशविरुद्ध डेब्यु गरेका थिए। राष्ट्रिय टिममा विकास खवास, एरिक बिष्ट र दर्शन गुरुङले डेब्यु गरेका थिए। तर पहिलो खेलमा नेपाल बंगलादेशसँग २–० गोलले पराजित भएको थियो।
नेपालले करिब एक वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेल खेलेको हो। यसअघि विश्वकप छनोटको दोस्रो चरणमा नेपालले भुटानमा नोभेम्बर १९ तारिखमा कुवेतसँग प्रतिस्पर्धा गरेको थियो। जुन खेलमा नेपाल १–० गोलले पराजित भएको थियो। त्यसपछि कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि नेपालले खेल्ने अन्तर्राष्ट्रिय खेल सर्दै आएको थियो। बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल पनि विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको तयारीकै लागि खेलेको हो।

.gif)



फेसबुक पेज Like गर्नुहोस