स्पेनिस ला लिगा: कार्लोसको पेनाल्टी ह्याट्रिकमा भ्यालेन्सियासँग रियल पराजित
काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड पराजित भएको छ ।
आइतबार राति भएको खेलमा भ्यालेन्सियाले मड्रिडलाई ४-१ गोलअन्तरले पराजित गरेको हो । भ्यालेन्सियाको जितमा कार्लोस सोलरले ह्याट्रिक गरे भने एक गोल उपहार स्वरुप पाएको थियो । यस्तै, रियलका लागि करिम बेन्जामाले एक गोल गरे ।
खेलमा सुरुवाती अग्रता भने रियलले लिएको थियो । खेलको २३औं मिनेटमा बेन्जामाले गोल गरेका थिए । तर, त्यसपछि रियलले आफ्नो अग्रता कायम गर्न सकेन । भ्यालेन्सियाको लागि चार पेनाल्टी सम्भव भएको खेलमा कार्लोसले ह्याट्रिक गरे भने एक पेनाल्टीमा चुके ।
खेलको ३० औं मिनेटमा भ्यालेन्सियाका कार्लोसले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार रियलका गोलकिपर थ्रिबाउट कोर्टुआले बचाएका थिए । ३५औं मिनेटमा कार्लोसले पेनाल्टीमा गोल गर्दै भ्यालेन्सियालाई बराबरीमा ल्याए । ४३औं मिनेटमा रियलका राफेल भरानले आत्मघाती गोल गरेपछि भ्यालेन्सियाले २-१ को अग्रता लियो ।
त्यसपछि खेलको ५४ औं मिनेटमा र ६३ औं मिनेटमा कार्लोसले पेनाल्टीमार्फत नै गोल गर्दै ह्याट्रिक पुरा गर्दा रियलमाथि ४-१ को शानदार जित दर्ता गर्न सफल भयो ।
जितसँगै भ्यालेन्सिया ९ खेलमा ११ अंक बटुल्दै नवौँ स्थानमा छ । पराजित भएको रियल भने शिर्षस्थानमा उक्लने मौकाबाट बञ्चित भएको छ । ८ खेलबाट १६ अंक रहेको रियल चौथो स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस