काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसन आजदेखि देशभर आन्दोलन गर्दैछ ।

यसअघि सर्वाेच्च अदालत, विशेष अदालत र काठमाडौं उपत्यकास्थित अदालतमा कालोपट्टी बाँधेर आन्दोलन हुँदै आएकामा आजदेखि आन्दोलन देशभर विस्तार हुन लागेको हो ।  

बारका महासचिव लीलामणि पौडेलका अनुसार काभ्रे र उपत्यकाभित्रका सबै जिल्ला अदालत, न्यायाधिकरण, विशेष अदालतमा दिउँसो १२ बजेसम्म मुद्दा सुनुवाइ नगर्न आग्रह गरिएको छ । उपत्यका र काभ्रेबाहेकका बार इकाइले भने कालोपट्टि बाँधेर काम गर्ने कार्यक्रम रहेको पौडेलले बताए । 

प्रधानन्यायाधीश जबरालाई भने सर्वाेच्च प्रवेशमा रोक लगाउन मूल गेटमै धर्ना दिने कार्यक्रम छ । जबरा गत शुक्रबार मुल गेटमा धर्ना दिइरहेका कानुन व्यवसायीलाई झुक्याएर अर्कै गेट प्रयोग गरी कार्यकक्ष प्रवेश गरेका थिए । तर, आज उक्त ढोकामासमेत धर्ना दिने तयारी भएको बताइएको छ ।  

बारले १४ कात्तिकदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनमा छ ।