काठमाडौं,एजेन्सी - युनिभर्स बोस उपनामले चर्चित वेस्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेलले टी-ट्वान्टी क्रिकेटमा एक हजार छक्का प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।

जारी आइपिएलको ५० औं खेलमा राजस्थान रोयल्सविरुद्ध किंग्स इलेभन पन्जाबका गेलले ८ छक्का प्रहार गरेका छन्। उनले ६३ बल खेल्दै ८ चौकाको मद्दतमा ९९ रन बनाएका थिए ।

अबुधाबीस्थित शेख जायद रंगशालामा राजस्थानविरुद्ध सातौं छक्का प्रहार गरेपछि गेल टी–२० इतिहासमा १००० छक्का प्रहार गर्ने पहिलो खेलाडी बने । उनले करियरमा टी ट्वान्टी क्रिकेटमा १ हजार १ छक्का हानेका छन् ।

टी–२० खेलमा एक हजार चौका प्रहार गर्नेमा समेत गेल एक्ला खेलाडी हुन्। टी–२० क्रिकेटमा १ हजार छक्का प्रहार गर्ने पहिलो खेलाडी बनेका उनले ४ सय ९ खेलबाट यो दुर्लभ कीर्तिमान बनाएका हुन्। ४१ वर्षीय गेलले सन २००६ मा न्युजिल्यान्डविरुद्ध टी–ट्वान्टीमा डेब्यु गरेका थिए।

यसैगरी टी–२० मा दोस्रो सबैभन्दा बढी छक्का हान्नेको सूचीको दोस्रो स्थानमा वेस्ट इन्डिजकै काइरन पोलार्ड छन्। पोलार्डले ६ सय ९० छक्का प्रहार गरेका छन्। चौकाको रेकर्डमा दोस्रोमा डेभिड वार्नर (९४५) र तेस्रोमा ब्रेन्डन म्याककुलम (९२४) छन्।