आइपिएलकाे फाइनल आज, दिल्ली र मुम्बईमा कस्ले मार्ला बाजी ?
काठमाडाैं, एजेन्सी - दुबईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनल आज(मंगलबार) हुँदैछ । उपाधिका लागि नेपाली समयानुसार साँझ ७ः४५ बजे दुबई इन्टरनेशनल क्रिकेट मैदानामा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स आमनेसामने हुँदैछन् ।
रोहित शर्माको कप्तानीमा मुम्बईलाई ५ औं पटक उपाधि जित्ने मौका छ भने दिल्ली पहिलोपटक आइपिएलको विजेतामा आफ्नो नाम लेखाउन चाहन्छ । जारी सिजनमा दिल्लीको प्रमुख हतियार भनेको बलिङ रहेको छ । यता मुम्बईसँग ८ नम्बरसम्म ब्याटिङ गर्न सक्ने खेलाडी छन् ।
उत्कृष्ट लयमा रहेका रोहित शर्मा, क्विंटन डिकक र सूर्यकुमार यादवलाई रोक्न दिल्लीका बलरलाई चुनौति हुन्छ । दिल्लीमा पनि ओपनर शिखर धवन उत्कृष्ट लयमा छन् । उनी आइपिएलको इतिहासमै एकमात्र खेलाडी हुन् जसले लगातार २ खेलमा शतकीय पारी खेले । यस सिजनमा सबैको नजर दिल्लीको कागिसो रबाडातिर पनि हुनेछ ।
उनी जारी सिजनको सबैभन्दा बढी विकेट लिने खेलाडीमा छन् । उनले २९ विकेट लिएका छन् । यता मुम्बईका बलर जास्प्रित बुमराहले उनलाई पछ्याउँदै २७ विकेटसहित दोस्रो स्थानमा छन् भने मुम्बईकै ट्रेन्ट बोल्ट २२ विकेटसहित तेस्रो स्थानमा छन् । दुबईमा आज मौसम सफा रहने बताइएको छ ।
जहाँ तापक्रम २३ देखि ३२ डिग्रीसम्म रहने सम्भावना रहेको छ । पिच ब्याट्सम्यानको लागि सहयोग मिल्ने बताइएको छ । यहाँ स्लो विकेट भएको कारण स्पिनर्सलाई निकै फाइदा पुग्ने देखिन्छ । यो सिजनमा यहाँ भएको खेलहरुलाई मध्येनजर गर्दा पहिला ब्याटिङ गर्ने टिमले जित्ने सम्भावना ६४ प्रतिशत रहेको छ ।
यस मैदानमा भएका जम्मा खेलहरु -२५
पहिले ब्याटिङ गर्ने टिमको जित -१६
पहिले बलिङ गर्ने टिमको जित - ९
यहाँ सबैभन्दा बढी स्कोर - २१९
यहाँ सबैभन्दा कम स्कोर - १०९
मुम्बईको ब्राण्ड भ्यालु ८०९ करोड र दिल्लीको ब्राण्ड भ्यालु ३७४ करोड रहेको छ । खेलाडीको कुरा गर्दा मुम्बईमा रोहत शर्माले १ सिजनको १५ करोड भारु र हार्दिक पाण्ड्याले ११ करोड लिन्छन् । यस्तै दिल्लीको कुरा गर्दा ऋषभ पन्तले १५ करोड र शिमरन हेटमायरले ७.७५ करोड पारिश्रमिक लिन्छन् । मुम्बईले सबैभन्दा धेरै (४ पटक) उपाधि जितेको छ भने ५ पटक फाइनल खेलेको छ । यता दिल्ली पहिलो पटक फाइनलमा प्रवेश गरेको हो । हालसम्म यी दुई टिम आइपिएलमा २७ पटक भिडेका छन् । जसमा १५ पटक मुम्बईले जित हात पारेको छ भने १२ पटक दिल्लीले जित हात पारेको छ ।
सम्भावित लाइन अपः मुम्बई इन्डियन्स
रोहित शर्मा (कप्तान), क्विन्टन डिकक, इशान किशन, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, क्रुणाल पाण्ड्या, कायरन पोलार्ड, जासपित बुम्राह, राहुल चाहर, जेम्स प्याटिन्सन, ट्रेन्ट बोल्ट
दिल्ली क्यापिटल्सः श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त, शिखर धवन, अजिंके रहाणे, शिमरन हेटमायर, मार्कस स्टोइनिस, अक्षर पटेल, कागिसो रबाडा, एनरिच नोर्खिया, रविचन्द्र अश्विन, तुषार देशपाण्डे

.gif)



फेसबुक पेज Like गर्नुहोस