काठमाडौं,एजेन्सी - च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले युभेन्ट्सलाई हराएको छ ।

गएराति भएको समूह जीको खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्ट्सलाई २–० गोल अन्तरले हराएको हो । बार्सिलोनाको जितमा उसमान डेम्बेले र लियोनल मेस्सीले एक-एक गोल गरे ।

खेलको १४ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा सुनौला अवसर सिर्जना गरेको युभेन्ट्स गोल गर्न भने चुकेको थियो । दोस्रो हाफमा युभेन्ट्सका मुख्य फरवार्ड अल्भारो मोराटाले गरेको गोललाई रेफ्रीले भिडियोको सहायतामा अफसाइड दिएका थिए ।

खेलको इन्जुरी समयमा मेस्सीले पेनाल्टीमार्फत् गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे । गएरातिको खेलमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो अनुपस्थित थिए । कोरोनाभाइरस संक्रमित रोनाल्डो होम आईसोलेसनमा बसिरहेका छन् ।

बार्सिलोना २ खेलमा ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा छ । दोस्रो स्थानको युभेन्ट्सको तीन अंक छ । सोही समूहको अर्को खेलमा डायनामो किभ र फेरेन्किोव्रोसी टीसीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे ।