काठमाडौं - सरकारी निर्णय बेवास्ता गर्दै विद्यालय सञ्चालन गर्ने सिरहाका ११ निजी विद्यालयका सञ्चालक पक्राउ परेका छन् । 

कोरोना संक्रमण फैलिन लाग्दा सरकारले सदरमुकाम राजविराजका विद्यालयहरु वैशाख मसान्तसम्मका लागि बन्द गर्न निर्देशन दिएको थियो ।  सो निर्णयको अवज्ञा गर्दै विद्यालय सञ्चालन गरेपछि पक्राउ गरिएको राजविराज नगरपालिकाका नगरप्रमुख शम्भुप्रसाद यादवले जानकारी दिए । 

पक्राउ पर्नेमा शिब्स बोर्डिङ्ग स्कुलका सञ्चालक बिष्णुपुर गाउँपालिका–६ निवासी नरेशप्रताप साह, राजविराज–२ स्थित लिटिल फ्लावर सेकेन्ड्री स्कुलका सञ्चालक डा. कामानन्द देव, एञ्जल बोर्डिङ्ग स्कुलका सञ्चालक नरेन्द्रप्रसाद देव, पिस जोन स्कुलका सञ्चालक राजविराज–२ का उमाकान्त साह, राजविराज–१ स्थित सृजना सेकेन्ड्री बोर्डिङ्ग स्कुलका सञ्चालक रिमा झा, ग्रिन ईङ्ंगलिस बोर्डिङ्ग स्कुलका शिक्षक राजविराज–१ का मनोज यादव, राजविराज–३ स्थित ह्यापील्याण्ड माबिका अनुशासन प्रमुख राजबिराज–५ का शैलेन्द्रकुमार ठाकुर, जानकी सेकेन्ड्री स्कुलका शिक्षक हरीकिसुन राम तथा राजबिराज– ८ स्थित लक्ष्मी ईङ्गलिस बोर्डिङ्ग स्कुलका सञ्चालकहरु राजेशकुमार यादव, बैधनाथ कुमार झा र बुलन्द साह छन् । 

उनीहरुलाई प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, नगरप्रमुख यादवसहित प्रहरीको टोलीले पक्राउ गरेको हो ।

नियन्त्रणमा लिइएकाहरूलाई राजविराजस्थित जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ । उनीहरूमाथि संक्रामक रोग ऐन–२०२० अनुसार कारबाही गरिने प्रहरीले जनाएको छ ।