काठमाडौं,  एजेन्सी - राजस्थान रोयल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा राजस्थानले मुम्बईलाई ८ विकेटले पराजित गरेको हो । शेख जायद क्रिकेट मैदानमा मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्य राजस्थानले १८ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

राजस्थानको जितमा बेन स्टोक्सले अविजित रहदै १ सय ७ रनको शतकीय इनिङ्स खेले । स्टोक्सले ६० बलमा ३ छक्का र १४ चौका प्रहार गरे ।

यस्तै सन्जु सामसनले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ्स खेले । राजस्थानका रोबिन उथप्पाले १३ तथा कप्तान स्टिभ स्मिथले ११ रन बनाए ।

मुम्बईका जेम्स पाटिनसनले २ विकेट लिए । यस अघि ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो ।

मुम्बईको उच्च स्कोरका लागि हार्दिक पाण्डयले अविजित रहदै ६० रनको अर्धशतकीय इनिङ्स खेले । आक्रामक ब्याटिङ गरेका उनले २१ बलमा ७ छक्का र २ चौका प्रहार गरे । यस्तै, सूर्यकुमार यादबले ४० रन जोडे । इशान किशनले ३७ रन जोड्दा सौरभ तिवारीले ३४ रन बनाए ।

क्विनटन डी कक र कप्तान केइरन पोलार्ड समान ६र६ रन बनाएर आउट भए । राजस्थानका श्रेयस गोपाल र जोफ्रा आर्चरले २/२ विकेट लिए । कार्तिक त्यागीले १ विकेट लिए ।

जितसँगै राजस्थानले १२ खेलमा १० अंक जोडेको छ । र, राजस्थान तालिकाको छैटौं स्थानमा उक्लिएको छ । मुम्बईले भने ११ खेलमा १४ अंक जोडेको छ । मुम्बई शीर्ष स्थानमा यथावत रहेको छ ।