काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

प्रधानमन्त्रीले एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दै जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षबाट एक मन्त्री बनाउँदै मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।

यससँगै ओली नेतृत्वको मन्त्रिपरिषद् राज्यमन्त्रीसहित २५ सदस्यीय बनेको छ । 

ओली क्याबिनेटमा तीन जना उपप्रधानमन्त्री रहेका छन् । जसमा विष्णु पौडेल उपप्रधानसहित अर्थ, राजेन्द्र महतो सहरी विकास, रघुवीर महासेठ परराष्ट्र मन्त्री रहेका छन् । 

यस्तै, खगराज अधिकारी गृह मन्त्री बनेका छन् । शरदसिंह भण्डारी ऊर्जा तथा जलस्रोत, कृष्ण गोपाल श्रेष्ठ शिक्षा, अनिल कुमार झा खानेपानी, शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री कायमै छन् । 

यस्तै, राजकिशोर यादव उद्योगमन्त्री बनेका छन् । लक्ष्मणलाल कर्ण भूमि व्यवस्था तथा सहकारी, बसन्त कुमार नेम्वाङ भौतिक पूर्वाधार, लिलानाथ श्रेष्ठ कानुन मन्त्रीमा कायम हुँदा पुर्वगृहमन्त्री रामबहादुर थापा बादल पत्नी नैनकला थापा सञ्चारमन्त्री बनेकी छिन् । 

यस्त, ज्वाला कुमारी साह कृषि, विमल प्रसाद श्रीवास्तव श्रम रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया संस्कृति पर्यटन तथा नागरिक उड्ययन, चन्दा चौधरी महिला तथा बालबालिका, एकवाल मिया युवा तथा खेलकुद मन्त्री कायम छन् भने नारदमुनि राना वन मन्त्री बनेका छन् । 

यस्तै, गणेश कुमार पहाडी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् । मोहन बानिया प्रधानमन्त्री कार्यालय हेर्नेगरी मन्त्री बनेका छन् । 


यसैगरी राज्यमन्त्रीहरुमा चन्द्रकान्त चौधरी (ऊर्जा), रेणुका गुरुङ (महिला तथा बालबालिका) र आशाकुमारी विक (वन) रहेका छन् ।