एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्छः सुरेन्द्र पाण्डे
काठमाडौंचितवन-नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाउनुपर्ने धारणा राखेका छन्। बिहीबार चितवनमा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता पाण्डेले अस्थितरताको संकट टार्नको लागि कांग्रेस र एमाले मिल्नुपर्ने बताएका हुन्।
निर्वाचनको परिणाम अनुसार कुनै दलको स्पष्ट बहुमत नआएपछि मुलुक थप संकटमा जाने खतरा रहेको भन्दै एमाले र कांग्रेस मिल्नुपर्ने पाण्डेको भनाई छ। उनले धेरै दल मिलेर सरकार बनाउँदा हुने बार्गेनिङले प्रधानमन्त्री कमजोर हुने बताए। ‘मुलुकको हरेक कालखण्डमा मुख्य मुद्दा हल गर्न यी दुईदलको मुख्य भुमिका रह्यो। सरकार हुँदा होस् या बाहिर भएर पनि सहकार्य भएको छ’, उनले भने, ‘अस्थिरता हटाउन एमाले काङ्ग्रेस सहमति गर्नै पर्छ।’
दलहरूले प्राप्त गरेको सिटबाट बन्ने संसदले दिने परिणामको आशा घटेको उनको भनाइ छ। देशमा संकट परेको बेलामा एमाले काङ्ग्रेस थुप्रैपटक सहकार्य गरेको स्मरण गराउँदै उनले ठूला शक्ति मिले सत्ता बार्गेनिङको खेल नहुने बताए। सत्ता संचालनमा सहकार्य तत्काल सम्भावना नरहेको भए पनि राष्ट्रिय हितको मुद्दामा एक हुनुको विकल्प नभएको उनको भनाइ छ।
त्यस्तै, पाण्डेले राजनीतिक र आर्थिक संकट बढ्ने खतरा रहेको बताउँदै सरकारमा सहभागी नभए पनि अस्थिरताका मुद्दामा एक हुनपर्नेमा जोड दिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस