काठमाडौं - फ्रान्सबाट आएकी नेपालकी दोस्रो कोरोना भाइरस संक्रमित युवती अस्पतालबाट डिस्चार्ज भएकी छिन् । २७ दिन उपचारपछि शनिबार घर फर्किएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएपछि टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएकी थिइन् ।

काठमाडौं घर भएकी ती युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।फ्रान्सबाट नेपाल आएपछि उनी होम क्वारेन्टाइन बसेकी थिइन्। उनलाई कोरोना देखिएपछि परिवारका सदस्य पनि होम क्वारेन्टाइन बसेका थिए।

गत माघ ९ गते नेपालमा पहिलो कोरोना संक्रमित भेटिएका थिए । उनी पनि ठीक भएर घर फर्किसकेका छन् । नेपालमा अहिलेसम्म देखिएका ३० जना कोरोना संक्रमितमध्ये दुई जना निको भएर घर फर्किएका छन् ।