काठमाडौं,एजेन्सी - हलिउडकी चर्चित मोडेल, टिभि स्टार र व्यवसायी किम कार्दसियन अर्बपतिको सूचीमा अटाएकी छन् । फोर्ब्स म्यागजिनले मंगलबार  प्रकाशित गरेको अर्बपतिको सूचीमा कार्दसियन अटाएकी हुन् । 

फोर्ब्स म्यागजिनका अनुसार कार्दसियनले टेलिभिजन कार्यक्रम, विभिन्न कम्पनीको विज्ञापनबाट पछिल्लो वर्ष र यस वर्ष धेरै आम्दानी गरेकी छन् । 

गत वर्षको अक्टोबरपछि मात्र कार्दसियनले २०० मिलियन डलर कमाएको फोर्ब्सले जनाएको छ । यससँगै उनको कुल सम्पत्ति १ अर्ब अमेरिकी डलर भन्दा बढी भएको छ । उनी फोर्ब्सको अर्बपतिको सूचीमा २७५५ स्थानमा रहेकी छन् । 

४० वर्षिया कार्दसियनको अन्डरवेयर तथा लन्जवेयरको कम्पनी सबैभन्दा धेरै चर्चित छ। 

यता, अमेरिकीका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पत्ति भने घटेको छ । सन् २०१७ मा ट्रम्पको सम्पत्ति साढे ३ अर्ब डलर थियो । अहिले घटेर २.४ अर्ब डलरमा पुगेको फोर्ब्सले जनाएको छ । 

कोरोना महामारीको कारण उनले रिटेल लोकेसन, होटेल र गल्फ रिसोर्टमा धेरै सम्पत्ति गुमाएका छन्। हाल ट्रम्प सूचीको १२९९ औं स्थानमा छन्।

यस्तै, सूचीमा अमेजनका संस्थापक जेफ बेजोस यसपालि पनि सूचीको पहिलो नम्बरमा छन्। उनको सम्पत्ति १७७ अर्ब डलर छ। त्यस्तै टेस्लाका मालिका एलन मस्कको सम्पत्ति १५१ अर्ब डलर पुगेको छ।