प्रिमियर लिग: माने चम्किँदा चेल्सीमाथि लिभरपुलको सहज जित
काठमाडौं - इंग्लिस प्रिमियर लिगको साविक च्याम्पियन लिभरपुलले लगातार दोस्रो जित दर्ता गरेको छ ।
आइतबार राति भएको खेलमा लिभरपुलले लण्डन क्लब चेल्सीलाई २–० गोलअन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा साडियो माने नायक बने । दुवै गोल उनले नै गर्न सफल भए ।
पहिलो हाफको अन्तिम मिनेटमा चेल्सीका डिफेन्डर आन्द्रिएस क्रिस्टेनसनले रातो कार्ड पाएपछि लिभरपुलको जित सहज भएको थियो । यसको फाइदा उठाउँदै लिभरपुलका लागि ५० औं मिनेटमा मानेले गोल गर्दै सुरुवाती अग्रता दिलाए । त्यसको चार मिनेटपछि मानेले नै लिभरपुलको अग्रता दोब्बर बनाउन सहयोग गरे ।
दोस्रो हाफको इन्जुरी समयमा चेल्सीले पेनाल्टीको अवसर गुमाउन पुग्यो । टिमो वेर्नरलाई डेब्यु गरिरहेका थियागोले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि रेफ्रीले भीएआरको सहायता लिँदै पेनाल्टी दिएका थिए । तर, जोर्गिन्होको प्रहार लिभरपुलका गोलकिपर एलिसनले बचाउन सफल भए ।
जितसँगै लिभरपुलले २ खेलबाट ६ अंक जोडेको छ । पराजित चेल्सीको २ खेलबाट ३ अंक भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस