काठमाडौ - ओखलढुंगामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएका व्यक्तिलाई उपचारका लागि कोभिड अस्पताल विराटनगर पठाउने तयारी गरिएको छ । 

जिल्लामा कोरोनाको संक्रमण देखिएपछि सोमबार बसेको जिल्ला कमान्ड पोस्टको आकस्मिक बैठकले संक्रमितलाई उपचारका लागि विराटनगरको गोठगाउँस्थित कोभिड अस्पतालमा पठाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए । 

बैठकले संक्रमित व्यक्तिसँगै भारतबाट नेपाल आएकाहरूको पहिचान गरेर पिसिआर परीक्षण गर्ने, अन्य जिल्लाका भए सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई खबर गर्ने, जिल्ला प्रवेश गर्ने नाकाहरूमा कडाइ गर्नेलगायतका निर्णय गरिएको जिल्ला कमान्ड पोस्टले जनाएको छ । 

भारतबाट फर्किएका लिखु गाउँपालिकाका एक २८ वर्षीय पुरुषमा पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै जिल्लामा कोरोना संक्रमण देखिएको हो । 

आइतबार साँझ जिल्लामा पहिलोपटक कोरोना संक्रमण देखिएका लिखु गाउँपालिकाका २८ वर्षीय पुरुषलाई कोभिड अस्पताल पठाउन लागिएको हो ।