काठमाडौं - कोरियाली भाषा परीक्षा पास गरेर अलपत्र परेका नेपाली नागरिकलाई तत्काल दक्षिण कोरिया पठाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संघीय संसद राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आईतबारको बैठकले इपीएस परीक्षा पास गरेर बसेकाहरुलाई तत्काल दक्षिण कोरिया पठाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

भाषा परीक्षा पास गरेर बसेका करिव १० हजार जना नेपाली दक्षिण कोरिया पठाउने काममा सरकारले आलटाल गरेको भन्दै समितिमा उजुरी परेको थियो । सोही उजुरीमाथिको छलफलमा समितिले श्रम, रोजगार मन्त्रालयसँग छलफल गरी आवश्यक प्रक्रिया पूरा गरी तत्काल उनीहरुलाई दक्षिण कोरिया पठाउन निर्देशन दिएको समितिका सभापति रामनारायण बिडारीले जानकारी दिए । बैठकमा भाषा परीक्षा पास गरिसक्दा पनि कोरिया पठाउने काममा आलटाल गरेको भन्दै समितिका सदस्यले सरकारको आलोचना गरेका थिए । समितिका सदस्य खिमलाल देवकोटाले सबै प्रक्रिया पूरा गरेका नेपालीलाई अझै दक्षिण कोरिया नपठाएकोमा सरकारको टिप्पणी गरे ।

समितिका अर्का सदस्य राधेश्याम अधिकारीले उडान तथा खोप सबैको तत्काल व्यवस्था गरी भाषा परीक्षा पास गरेकालाई कोरिया जाने वातावरण बनाउन ढिलाइ नगर्न सुझाव दिए । समितिका सदस्यले उठाएको प्रश्नको जवाफ दिँदै मुख्य सचिव शंकरदास बैरागीले भाषा परीक्षा पास गरेकालाई छिटो दक्षिण कोरिया पठाउन आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले कोभिड–१९ को संकटका कारण कामका लागि दक्षिण कोरिया जान नसकेको बताएका थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले खोप र हवाइ उडानको व्यवस्था मिलाउन नसक्दा भाषा परीक्षा पास गरेकालाई कोरिया पठाउन ढिलाइ भएको बताए । त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले कोरिया जाने नेपालीका लागि कोरोना विरुद्धको खोपको आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गरे । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले श्रम सम्झौताका लागि कुनै समस्या भए तत्काल सम्बोधन गर्न तयार रहेको बताएका थिए ।