काठमाडौं - नेकपा एमालेले निर्वाचन आयोगलाई बुझाएको समानुपातिकको बन्दसूचीमा हेरफेर गर्ने भएको छ। दश बुँदे पक्षधर र पूर्वमाओवादी नेताले ब्यापक विरोध गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसूची हेरफेर गर्न तयार भएका हुन्।

समानुपातिकको सूचीमा अध्यक्ष ओलीले आफ्नो समूहका नेताको मात्र नाम समावेश गरेको भन्दै दश बुँदे र पूर्व माओवादी नेताले अध्यक्ष ओलीको विरोध गरेका थिए। पूर्व माओवादी नेताहरूले अध्यक्ष ओलीलाई समानुपातिक तर्फको बन्दसूचीकै कारण पार्टीमा विद्रोह गर्नुपर्ने परिस्थिति बन्न लागेको भन्दै सचेत गराएका थिए। त्यसपछि ओली यस विषयमा गम्भीर बनेका हुन्।

अब पूर्व माओवादी समूहबाट रामबहादुर थापा लगायत केही नेतालाई समेटेर एमालेले अन्तिम बन्दसूची तयार पार्ने भएको छ। समानुपातिक तर्फको बन्दसूचीको विषयलाई लिएर विवाद उत्पन्न भएपछि एमालेले बिहीबार साँझ सचिवालय बैठक बोलाएको थियो। बैठकले बन्दसूची सच्याउने निर्णय गरेको हो। तर, यसपटक पनि यसको अन्तिम निर्णय गर्ने अधिकार भने अध्यक्ष ओलीलाई नै दिएको छ।