काठमाडौं - लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।

प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुलाई बिहीबार अपरान्ह ३ बजेभित्र बहुमत दाबी पेश गर्न आह्वान गरेका छन्। लुम्बिनीमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धन छ। जसबाट मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ। संविधानको धारा १६८ को उपधारा २ अनुसार ४ दलको सिफारिसमा नेता केसीले मुख्यमन्त्रीमा समर्थनसहित सरकार गठनका लागि दाबी गर्ने भएका छन् । 

गठबन्धनका ठूला दल कांग्रेस र माओवादीबीच आठ/आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ। स्रोतका अनुसार सुरुको आठ महिनाका लागि माओवादी नेता केसी मुख्यमन्त्री बन्नेछन् भने त्यसपछिको कार्यकालको नेतृत्व कांग्रेस दलका नेता विरेन्द्र कानोडियाले गर्ने छन्।

८७ सदस्यीय प्रदेशसभामा हाल ८० प्रदेशसभा सदस्य छन् । बुहुुमतको सरकार गठन गर्न ४१ प्रदेशसभा सदस्यको सङ्ख्या आवश्यक हुन्छ । विपक्षी गठबन्धनसँग कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका तीन र जनमोर्चाका एक गरी ४१ सदस्य भएको बताइएको छ । एमालेका पक्षमा लुम्बिनीमा भने ३८ सांसद मात्र छन्।  पोखरेल प्रदेशसभामा स्पष्ट अल्पमतमा परेका थिए । 

मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी दलका सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गरेपछि बुधबार प्रदेशसभामा उक्त अविश्वास प्रस्तावमाथि छलफल राखिएको थियो । तर अविश्वास प्रस्तावकाे टुंगो नलाग्दै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु भएकाे हाे ।