काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधि विधेयकका केही असमझदारीलाई किनारा लगाएर छिट्टै संसद्बाट पारित हुने बताएका छन ।

क्यान इन्फोटेक मेलाको २६औँ संकरणको आज उद्घाटन गर्दै सञ्चारमन्त्री बाँस्कोटाले डिजिटल क्षेत्रमा सुशासन, पारदर्शिता र डिजिटल कारोवारको वैधता आदि विषयलाई ध्यान दिएर सरकारले विधेयक ल्याएको उल्लेख गरे ।

डिजिटलको दुरुपयोग रोक्न र यसबाट हुने अपराध नियन्त्रण गर्न सरकारले नीतिगत सुधारको प्रक्रिया अघि बढाएको उनको भनाइ थियो ।

अभिव्यक्ति स्वतन्त्रता भनेर बेस्सरी कराउने तर, डिजिटल क्षेत्रमा हुन खोजेका सुशासन पारदर्शिता र डिजिटल कारोवारका वैधतालाई बेवास्ता गर्न नमिल्ने भन्दै सञ्चारमन्त्री बाँस्कोटाले भने, सूचना प्रविधि विधेयक अभिव्यक्ति स्वतन्त्रतासँग मात्रै जोडिएको छैन ।

उनले भने, सूचना प्रविधि विधेयकमाथि गलत ब्याख्या भयो कि भन्ने लाग्छ । उनले प्रश्न गरे, प्रविधिको पहुँच, हस्तान्तर र प्रविधिको पहुँच र अभावबीचको खाडलको पूरा गर्ने भनेर ‘डिजिटल इकोनोमी’ को कुरा गर्ने तर कानूनी व्यवस्था, सुरक्षित कारोवार, सदुपयोगजस्ता विषयलाई ख्याल नगर्ने ?

सञ्चारमन्त्री बाँस्कोटाले सूचना प्रविधि विधेयकमा पहिलाको विद्युतीय कारोवार ऐनका भन्दा बढी स्वतन्त्रताका विषयहरु रहेको भन्दै अभिव्यक्ति स्वतन्त्रताका नाममा हल्लाको पछि नलाग्न आग्रह गरे । सामाजिक सञ्चालका केही कुरा जोडिएको छ । त्यो मिडियासँग जोडिएको विषय होइन । विधेयकमा रहेका दण्ड, सजाय बढी भएमा त्यसलाई कम गराएर पारित गर्छौ, उनले भने ।

उनले डिजिटल नेपालको सङ्कल्पको व्यवहारिक कार्यान्वयनका लागि सरकारले पर्याप्त लगानी गरेको र गाउँका कुनासम्म इन्टरनेटको पहुँच विस्तारमा लागेको बताए । उनले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको सूचना प्रविधि विधेयक हाल सङ्घीय संसद्मा विचाराधीन अवस्थामा रहेको जानकारी दिए ।

उनले संसद्को विकास समितिको बैठकले सूचना प्रविधि विधेयकको प्रतिवेदन फरकमतसहित पारित गरेको उल्लेख गरे ।