काठमाडौं - सप्तरीका ४५ वर्षीय रामप्रित सदा र उनकै साथी अवस्थी सदाको शुक्रबार राति १० बजे साउदीको उडान छ। उडानअघि उनलाई जोन्सोनको खोप लगाउनु र खोप लगाएको प्रमाणपत्र तयारी गर्नुछ। यो कामका लागि उनी दुई दिनअघि नै सप्तरीबाट काठमाडौं आएका हुन्। सदा बिहीबार दिनभरि राजधानीका तीनवटा खोप केन्द्रमा पालैसँग लाइन बसे। तर सबै ठाउँमा खोप लगाउन पाएनन्। कारण उनको पालो आउनुअघि नै खोप सकियो। त्यसपछि सदा, उनको साथी अवस्थी सदासहित तीनजना शुक्रराज सरुवा अस्पतालमा पुगे। टेकु पुग्दा पनि खोप लगाउने लाइन सकिएको थियो।

उनीहरू तीनैजना यो अस्पतालमा दिउँसो भेटिएका थिए। खोप नपाएपछि उनीहरू दुवै काम स्थगित गरेर बसिरहेको गौशाला होटेलमा फर्किने तयारीमा थिए। ‘आज तीन ठाउँ पुग्यौं, खोप कतै लगाउन पाएनौं, भोलि विहान ७ बजे आउनु भनेका छन् ’ उनले भने। तर उनीहरू तीनै जना भोलि खोप लगाउन पाइने हो कि होइन ? खोप पाइहालेपनि भोलि नै हजारौैको लामो लाइन छिचालेर खोप प्रमणीकरण पत्र पाइएला किन नपाइला ? मनमा दोधार बोकेर फर्किन लागेको बताए। ‘भोलि खोप मिलेन भने हाम्रो जहाज छुट्छ,’ रामप्रितले भने।

शुक्रबार नै अफगानिस्तानका लागि उडान तयार भएका पोखराका सुनिल गुरुङ र पोल्याण्ड हिँडेका म्याग्दीका तेजबहादुर थापा पनि टेकु अस्पतालमा उस्तै चिन्तामा देखिए। उनीहरूलाई शुक्रबार दिनभरिमा पिसिआर गर्ने र खोप प्रमाणीकरण गर्नु र्ने छ। बिहिवार दिनभर लाइन बसे पनि खोप प्रमाणीकरण हुन सकेन। बिहीबार टेकु अस्पताल पुगे पनि हजारौंको लाइन देखेपछि प्रमाणीकरण पाउने स्थिति नदेखेर उनीहरू फर्किने तरखरमा थिए।

केही महिनापछि अमेरिका जाने तयारीमा रहेका विराटनगरका सरोज कटुवाल खोप लगाएर प्रमाणीकरण कागज लिन तीन दिनअघि काठमाडौं आएका हुन्। बुधवार वीर अस्पतालमा तीन घण्टा लाइन बसेपछि खोप लगाउन पाए। बिहिवार ३ बजे प्रमाणीकरण कागज लिन टेकु अस्पतालमा लाइन बसेको १२ घण्टापछि उनको पालो आयो र कोभिड खोप प्रमाणीकरण पत्र पाए। तर उनले खोप लगाउन र यो काजग लिनको लागि पाएको दुःख मनभरि बोकेर विराटनगर फर्किने सुरमा थिए। ‘लाइन पर्खिंदा अहिलेसम्म खाना खाएको छैन,’ उनले भने। प्रमाणीकरण पत्रको लागि ३ सयको बिल काट्न छुट्टै लाइन र बिल लिइसकेपछि पत्र लिनको लागि बस्नुपर्ने छुट्टै लाइनमा पाएको सास्ती उनले कहिल्यै नभुल्ने क्षण भएको बताए। 

धेरैजनाको भीड भएपछि बुधबार र बिहीबार सेवा दिनको लागि सेवा अवधिको समय थप गरिएको अस्पतालका प्रमुख डा. अनुप बाँस्तोलाले बताए। ‘अहिले पनि मेरो वरपर १५ जना युवा हुनुहुन्छ, उहाँहरूलाई सेवा दिएर मात्र पठाउने तयारी गरेका छौं,’ बाँस्तोलाले बिहीबार साँझ भने। उपत्यकामा कोरोना संक्रमण बढिरहेको बेलामा अस्पतालमा सेवाग्राही दिने अस्पतालमा भीडभाड हुनु जोखिमपूर्ण अवस्था रहेको डा. बाँस्तोला बताउँछन्।

नागरिक दैनिकबाट