‘छोरी घर नफर्केसम्म चिन्ता गरिरहनुपर्ने अवस्थाको अन्त्य नभएसम्म सभ्य समाज निर्माण हुँदैन’
काठमाडौं - उपराष्ट्रपति नन्दबहादुर पुनले महिला सहभागिता सङ्ख्यात्मक रुपमा बढाएर मात्रै नभई उनीहरुको क्षमता अभिवृद्धितर्फ पनि ध्यान दिइनुपर्ने खाँचो औँल्याएका छन् । एक सय एघारौँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपाल चेम्बर अफ कमर्सले यहाँ आयोजना गरेको नारी सम्मान समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले महिला अधिकारको सुनिश्चितताका साथै गुणात्मक सहभागिता बढाइनुपर्नेमा जोड दिए ।
महिला सशक्तीकरण कुनै पनि देशको विकाससँग जोडिएको सवाल भन्दै उपराष्ट्रपति पुनले महिलालाई दुई महत्वपूर्ण पाटो शिक्षा र आर्थिक क्षेत्रमा समानताको अवसर दिलाइनुपर्ने बताए । उजले नेपालको आर्थिक समृद्धिका लागि महिला उद्यमशीलता आवश्यक रहेको र महिलाद्वारा सञ्चालित उद्योग व्यवसायमा राज्यले विशेष सहुलियतको व्यवस्था गरिनुपर्ने बताए। उपराष्ट्रपति पुनले नेपालमा विभिन्नखाले क्रान्ति र आन्दोलनमा महिलाको सक्रिय सहभागिता रहेको र उनीहरुको संलग्नता र सङ्घर्षबाटै अहिलेको उपलब्धी भएको भन्दै उहाँहरुको योगदान र वलिदानको उच्च सम्मान प्रकट गरे ।
संविधानले प्रत्येक महिलालाई लैंगिक भेदभावबिना समानपक्षीय र राज्यका सबै निकायमा समानुपातिक, समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पत्तिको समान अधिकारलगायत विषयमा संविधानले महिलालाई धेरै हदसम्म अधिकार सम्पन्न बनाएको उनको भनाइ थियो । उपराष्ट्रपति पुनले सामाजिक न्यायसहितको समानुपातिक व्यवस्थाले आज राज्यका हरेक निकायमा महिला सहभागिता बढेको, जननिर्वाचित निकाय, सरकारी सेवा, रोजगारी स्वास्थ्यलगायत विविध सेवामा महिला सहभागिता बढेको बताए । उहाँले राष्ट्रियसभा र प्रतिनिधिसभामा ३३ प्रतिशत महिला सहभागिता र स्थानीय तहमा करीब ४१ प्रतिशत महिला सहभागी रहनु नेपाल र नेपाली महिलाका लागि मात्र नभएर विश्वकै लागि ठूलो उपलब्धि भएको बताए ।
उपराष्ट्रपति पुनले राज्यको उच्च तह, राज्यका भिभिन्न निकायमा महिला सहभागिता बढ्नु गौरवको विषय भएपनि महिला हिंसाका घटना न्यूनीकरण नहुनु दुःखद् पक्ष भएको बताए । उनले भने, “ससाना बालबालिकाको बलात्कारपछि हत्याको घटना बढिरहेका छन्, कतिपय घटनाका अपराधीहरु कानूनी दायरामा आउन सकिरहेका छैनन् र महिला हिंसाका अन्य घटना पनि बढिरहेकाले यसतर्फ सबै सरोकारवाला पक्षले गम्भीरतापूर्वक सोच्नुपर्ने अवस्था छ । त्यसैले अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा सबै प्रकारका महिला हिंसाको अन्त्यका लागि संकल्पका साथ अघि बढ्न जरुरी छ ।”
उपराष्ट्रपति पुनले जबसम्म स्कुल, कलेज गएका छोरी, राति अबेरसम्म काम गर्नुपर्ने छोरी, बुहारी सुरक्षित रुपमा कार्यालयबाट घर नफर्केसम्म चिन्ता गरिहनुपर्ने अवस्थाको अन्त्य हुँदैन तबसम्म सुरक्षित र सभ्य समाज निर्माण नहुने बताए । कोभिड–१९ महामारीका कारण ठूलो आर्थिक क्षति भई अघिल्लो वर्षको आर्थिक वृद्धि करीब दुई प्रतिशत ऋणात्मक भएको अवस्थालाई मध्यनजर गर्दै यसको सामना गर्न प्रभावकारी रणनीतिक योजना ल्याइनुपर्ने खाँचो औंल्याए ।
फेसबुक पेज Like गर्नुहोस