महामारीमा आन्दोलनः सम्हालिनै नसकिने स्थिति आउन सक्ने विज्ञहरुको चेतावनी
काठमाडौं - पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा वाहेकका अधिकांश पार्टीहरु सडक आन्दोलनमा छन् । त्यसक्रममा कोरोना भाइरस नियन्त्रणको लागि अपनाउनु पर्ने सामान्य सावधानीहरु अपनाइएको छैन ।
त्यसले गर्दा कोरोना भाइरसको संक्रमणले भयावह रुप लिन सक्ने भन्दै जनस्वास्थ्यविद्हरूले चेतावनी दिएका छन् । हालसम्म अढाई लाख नेपाली संक्रमित भैसकेका छन् भने सोमबारसम्म १८३२ जनाको मृत्यु भैसकेको छ । यस्तो बेला भिडभाड र जुलुस गर्नु अति नै खतरनाक हुनसक्ने उनीहरुको भनाइ छ ।
कोरोनाभाइरसबाट जोगिने मुख्य उपाय नै मास्कको व्यवस्थित प्रयोग र भौतिक दूरी कायम गर्नु हो । तर आन्दोलनकारीले मास्क लगाए पनि भौतिक दूरी कायम नरहने र मास्क लगाउंदा पनि सचेतता नअपनाइने भएकोले संक्रमण फैलिएर स्थिति भयावह हुन सक्ने चिन्ता जनस्वास्थ्यविद्हरूको छ ।
जनस्वास्थ्यका जानकार समिरमणि दीक्षितले आन्दोलन भनिसकेपछि त्यसमा मानिसहरूको भिडभाड हुने र भौतिक दूरी नहुने भएकोले संक्रमणको खतरा स्वतः बढ्ने बताउंछन् ।
‘मैले कुनै राजनीतिक आन्दोलनमा मात्र होइन जात्रा तथा अरू भिडभाड पनि नगरौँ भन्दै आएको छु । भिडमा एक त भौतिक दूरी कायम हुनसक्दैन अर्को चिच्याएर नाराबाजी गर्दा मास्क नै लगाएपनि थुकको छिटा एकअर्कामा सर्ने सम्भावना धेरै हुन्छ’ दीक्षितको भनाइ छ । ‘यस्तो बेलामा आन्दोलनमा जानु नै हुँदैन। जानै परेको खण्डमा मास्क लगाउने र दूरी कायम गर्नुपर्छ ।’ दीक्षितले विविसीसंग भनेका छन् ।
‘जुलुस भन्दैमा मानिसहरूको घुइँचो गराउनु पर्दैन। प्रहरी वा सेनाले मार्चपास गरेको बेला जस्तै गरी एकअर्काबीच दूरी कायम गराउन सकिन्छ । जुलुसमा सहभागी सबैले स्यानिटाइजरको प्रयोग तथा मास्क लगाउनु पर्ने अनि बोल्ने पालो आएका वक्ता बाहेक अरूले मास्क नखोल्ने गरेमा उचित हुन्छ’ स्वास्थ्य मन्त्रालयका पूर्व सहसचिव तथा जनस्वास्थ्यविद् शुशिल प्याकुरेलको भनाइ छ ।
परीक्षणको मात्रासँगै अहिले कोरोना संक्रमणको पुष्टि हुनेहरूको संख्या पनि घटिरहेको छ । तर परीक्षण गराएकामध्ये अझैपनि १० प्रतिशतभन्दा धेरैमा संक्रमण पुष्टि भइरहेकाले नेपालमा कोरोनाभाइरसको महामारी समुदायमा खतरनाकस्तरमा कायम नै रहेको स्पष्ट हुन्छ । त्यसैले यस्तो डरलाग्दो महामारीका माझमा नाराजुलुस गर्दा होश नपु-याइए सम्हालिनै नसक्ने स्थिति आउने भएकोले गंभिर हुनु पर्ने देखिएको छ ।
फेसबुक पेज Like गर्नुहोस