काठमाडौं - काठमाडौंको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक रूपमा सुरु भएको छ ।

इन्द्रजात्राको सुरुवाती विधिअन्तर्गत हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरव अगाडि विधिपूर्वक इन्द्रध्वजसहितको लिङ्गो ठड्याइएको छ । परम्परागत बाजागाजासहित धार्मिक विधि र पूजाआजा सम्पन्न गर्दै लिङ्गो ठड्याइएसँगै जात्राका मुख्य गतिविधि सुरु भएका हुन् ।

इन्द्रजात्रा काठमाडौं उपत्यकाको नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व हो । जात्राका क्रममा इन्द्र, भैरव, गणेश र कुमारीको पूजा तथा रथयात्रा गरिन्छ । हनुमानढोका दरबार क्षेत्र आसपासमा विभिन्न देवीदेवताका मूर्ति तथा रथको दर्शन गर्न श्रद्धालु तथा सर्वसाधारणको भीड लाग्ने गर्छ ।

जात्राको मुख्य आकर्षणका रूपमा हनुमानढोकाबाट कुमारी, गणेश र भैरवको रथ निकालेर काठमाडौंका विभिन्न टोलमा परिक्रमा गराउने परम्परा छ । यस क्रममा लाखे नाच, पुलुकिसी नाचलगायत विभिन्न सांस्कृतिक प्रदर्शनसमेत गरिन्छ ।

इन्द्रजात्राका कारण हनुमानढोका तथा बसन्तपुर क्षेत्रमा विशेष चहलपहल बढेको छ । जात्रा अवलोकन गर्न स्थानीयवासीसँगै स्वदेशी तथा विदेशी पर्यटकसमेत ठूलो संख्यामा पुगेका छन् ।