काठमाडौं - जापानमा जारी २०औँ एसियाली खेलकुदमा करातेका तेन्जिङ शेर्पाले कास्य पदक जितेसँगै नेपालको पदक खाता खुलेको छ।

टोयाहाशी जिम्नेसियममा बुधबार भएको पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहमा तेन्जिङले कास्य पदक जितेका हुन्।

सेमिफाइनलमा इरानका महमुद नेमातीसँग ५–० ले पराजित भएपछि तेन्जिङले कास्यका लागि प्रतिस्पर्धा गरेका थिए।

कास्य पदकका लागि भएको खेलमा उनले लाओसका वाथाना जायासनलाई ९–१ ले पराजित गरे।

तेन्जिङको जितसँगै जारी एसियाली खेलकुदमा नेपालले पहिलो पदक हात पारेको हो।

शनिबारदेखि सुरु भएको प्रतियोगिता अक्टोबर ४ अर्थात् असोज १८ गतेसम्म सञ्चालन हुनेछ।

२०औँ एसियन गेम्समा नेपालबाट २१ खेलमा १३५ खेलाडी सहभागी छन्। जसमा ५७ महिला र ७८ पुरुष खेलाडी छन्। यस्तै, २९ प्रशिक्षक, १७ व्यवस्थापक र २ खेल प्राविधिक सहभागी छन्।

नेपालबाट आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, क्रिकेट, साइक्लिङ, गल्फ, जुडो, कबड्डी, कराते, र्‍याफ्टिङ एन्ड क्यानोइङ, स्केट एन्ड स्केट बोर्डिङ, सफ्ट टेनिस, स्क्वास, पौडी, टेबलटेनिस, तेक्वान्दो, टेनिस, भलिबल, कुस्ती र उसुमा खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगितामा ४३ खेल समावेश छन् भने ४५ देश तथा क्षेत्र र एक शरणार्थी टोलीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।