काठमाडौं, एजेन्सी - रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको ‘एल क्लासिको’ मा बार्सिलोनालाई २-१ले पराजित गर्दै रियल शीर्षस्थानमा उक्लिन सफल भएको हो । 

खेलको १३औं मिनेटमा कप्तान करिम बेन्जेमाको गोलबाट रियलले अग्रता लिएको थियो । २८औं मिनेटमा रियलले टोनी क्रुसले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । ६०औं मिनेटमा ओस्कार मिगुएजाले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने कोसिस गरे तर, थप गोल हुन नसक्दा रियल २-१ले विजयी बन्यो । खेलको इन्ज्युरी समयमा क्यासमिरोले दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा समेटिएको थियो । 

 योसँगै रियलले सन् २०१३ पछि पहिलोपटक एकै सिजनको दुवै एल क्लासिकोमा जित हात पार्नसमेत सफल भएको छ । यो सिजनको पहिलो एल क्लासिमा रियल ३-१ ले विजयी भएको थियो । 

जितसँगै शीर्ष स्थानमा उक्लिएको रियलले ३० खेलमा ६६ अंक जोडेको छ । समान ६६ अंक भएपनि हेड टु हेडमा रियलले एट्लेटिको म्याड्रिडलाई पछि पारेको छ । पराजित बार्सिलोना ६५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।