काठमाडौं,एजेन्सी - स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलअन्तर्गत आज (बुधबार) समूह चरणको चौथो खेल खेल्दै छ ।

च्याम्पियन्स लिगको सर्वाधिक च्याम्पियन रियलले इटालियन क्लब इन्टर मिलानसँग प्रतिस्पर्धा गर्न लागेको हो । इन्टरको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १:४५ मा सुरु हुनेछ ।

बलियो टिम इन्टरविरुद्ध मैदान उत्रँदा रियल महत्वपूर्ण जितको खोजीमा हुनेछ । किनकि नकआउट चरणमा स्थान बनाउन रियललाई जित महत्वपूर्ण रहेको छ । त्यसकारण आजको खेल जित्नैपर्ने दबाबमा रियल छ ।

इन्टरविरुद्ध रियलका स्ट्राइकर करिम बेन्जिमा र कप्तान सर्जियो रामोसले खेल्ने छैनन् । उनीहरु चोटका कारण टिममा छैनन् । लिगमा तीन खेल खेलेको रियल ४ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ ।

आजको खेलमा जित निकाल्न सके रियलले आफूलाई अंक तालिकामा बलियो बनाउनेछ । लिगमा रियल तीन खेलमध्ये एकमा पराजित, एक खेलमा बराबरी र एक खेलमा जित निकालेको छ ।

यता इन्टर पनि आजको खेलमा जित निकाल्दै लिगको अघिल्लो चरण प्रवेशका लागि आफूलाई बलियो बनाउने योजनामा छ । लिगमा तीन खेल खेलको इन्टर २ अंकसहित तालिकाको पुछारमा छ ।