काठमाडौं - महानगरीय प्रहरी कार्यालय रानीपोखरीले मित्रनगर बसपार्कको एउटा गेस्ट हाउसबाट इटालियन पेस्तोलसहित तीन जनालाई आइतबार साँझ पक्राउ गरेको छ।

हतियारसहित केही व्यक्तिहरू होटलमा रहेको जानकारी पाएपछि गएको टोलीले ‘मेड इन इटाली’ लेखिएको अटोमेटिक पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका–४ का २९ वर्षीय प्रितम राई, ३७ वर्षीय रामकुमार राई र भारत दार्जिलिङ घर भई हाल काठमाडौं टोखा बस्ने ३६ वर्षीय सविन खवास रहेका छन्।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीका अनुसार तीनै जनालाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं बुझाइएको छ।

पेस्तोलसँगै त्यसको पाँच राउण्ड गोली पनि फेला परेको थियो। उनीहरूले हतियार बोक्नुको उद्देश्य आपराधिक गतिविधि हुन सक्ने आंकलन प्रहरीको छ। यसको अनुसन्धान गर्न महानगरीय प्रहरी अपराध महाशाखालाई जिम्मा दिइएको एसएसपी ज्ञवालीले बताए।