काठमाडौं-नयाँ आर्थिक वर्षको आगमनसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उछाल आएको छ। 

शुक्रबार दिनभरको उतारचढावमा रहेको नेप्से अन्तत: ७९.७४ अंकले बढेर बन्द भएको हो । अघिल्लो कारोबार दिनको तुलनामा आज ३.०६ प्रतिशतले बढ्दै नेप्से २६७७.५४ विन्दुमा रोकिएको छ। नेप्सेमा आज ३३५ कम्पनीको ५८ हजार ९४ पटकको कारोबारमा एक करोड तीन लाख ८९ हजार ७७ कित्ता सेयर किनबेच भए। 

जसअनुसार शुक्रबार चार अर्ब ५७ करोड ५० लाख ९४ हजार ७२३ रुपैयाँको कारोबार भयो। नेप्सेमा आज २५९ कम्पनीका सेयरमूल्य बढे। १३ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा दुई कम्पनीका सेयरमूल्य स्थिर रहे।  १३ समूहको कारोबार भएकामा म्युचुअल फन्ड समूहका सूचक मात्र घट्यो भने बाँकी १२ समूहका सूचक हरियाली रहे।

जसअनुसार वाणिज्य बैंक २.४१‚ विकास बैंक २.१८‚ फाइनान्स ३.३९‚ होटेल तथा पर्यटन ३.६६‚ जलविद्युत् ४.५८‚ लगानी ४.१२‚ जीवन बिमा २.७४‚ उत्पादन तथा प्रशोधन ४.६० र लघुवित्त समूहको सूचक १.८० प्रतिशतले बढेको छ। म्युचुअल फन्ड समूहको सूचक भने ०.२९ प्रतिशतले घट्यो। यसैगरी निर्जीवन बिमा २.११‚ अन्य २.७७ र व्यापार समूहको उपसूचक ०.८३ प्रतिशतले बढ्यो।

नेप्सेमा आज श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडका लगानीकर्ताले १५ प्रतिशतले आम्दानी गरे। अर्थात् श्रीनगर एग्रिटेकको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो। यस्तै आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने १५ प्रतिशतले सेयरमूल्य गुमाए। अर्थात् आत्मनिर्भरको सेयरमूल्यमा नकारात्मक सर्किट लाग्यो।

कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत् लिमिटेड अग्रस्थानमा रह्यो। यसको २२ करोड २३ लाख ९७ हजार ६३८ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा पनि आँखुखोला नै अगाडि रह्यो। शुक्रबार यसको ६ लाख १९ हजार ७४० कित्ता सेयर कारोबार भयो। यसको आज अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३६३ रुपैयाँ कायम रह्यो। 

केही दिनदेखि शेयर बजार निरन्तर घटेपछि लगानीकर्तहरुले विरोध समेत जनाएका थिए । त्यसपछि दुईतिन दिनदेखि शेयर बजार सानो अंकमा बढेको थियो । शिथिल बनेको शेयर बजार साताको अन्तिम कारोबार दिन र नयाँ आवको शुरु दिन दोहोरो अंकले वृद्धि हुँदा लगानीकर्ताहरुमा आशा पलाएको छ।