काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ता-चप्पल उद्योगको विकास, उत्पादन विस्तार र बजार प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल (एफएमएएन)का पदाधिकारीसँग भएको छलफलमा उनले यस्तो बताएका हुन् ।

छलफलमा एफएमएएनका प्रतिनिधिहरूले भारतसँग जोडिएका नाकाबाट हुने अवैध आयात नियन्त्रण, कर तथा भ्याटको दायराबाहिर रहेका ब्रान्डलाई कानुनी दायरामा ल्याउने, गुणस्तरहीन जुत्ता–चप्पलको आयात रोक्ने तथा आयातित उत्पादनको गुणस्तर परीक्षण अनिवार्य गर्न सरकारसँग माग गरेका थिए।

उद्योगमैत्री नीति र बजार संरक्षण भए स्वदेशी उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने उनीहरूको धारणा थियो। छलफलपछि प्रधानमन्त्री शाहले जुत्ता उद्योगका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न तीनै तहका सरकारको सहकार्यमा सीप विकाससम्बन्धी तालिम सञ्चालन गरिने जानकारी दिए। 

उद्योगको वास्तविक उत्पादन क्षमताका आधारमा कच्चा पदार्थ आयात व्यवस्थापनलाई व्यवस्थित बनाइने तथा आयातसम्बन्धी अभिलेख र अनुगमन प्रणालीलाई प्रभावकारी बनाइने उनले बताए।

स्वदेशी उद्योगको संरक्षण र उत्पादन वृद्धि सरकारको प्राथमिकतामा रहेको उनको भनाइ थियो।

छलफलमा एफएमएएनका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, महासचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम तथा प्रतिनिधिसभा सदस्य विदुषी राणालगायत सहभागी थिए।

सरकारले स्वदेशी उत्पादनको प्रवर्द्धन र उद्योग क्षेत्रका समस्या समाधानका लागि विभिन्न क्षेत्रका सरोकारवालासँग नियमित छलफल गर्दै आएको छ।

यसअघि बिहीबार प्रधानमन्त्री बालेनले आज महिला उद्यमी महासंघका पदाधिकारीसँग महिला उद्यमशीलता र नीतिगत सुधारका विषयमा छलफल गरेका थिए ।

त्यसअघि प्रधानमन्त्री शाहले होटल एसोसिएसन नेपाल ९हान०का पदाधिकारी, ऊर्जा क्षेत्रका उद्योगी–व्यवसायी, निर्माण व्यवसायी र उद्योगी तथा व्यवसायी पनि छलफल गरेका थिए ।