काठमाडौं - सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कारपछि हत्या गरिएको घटनामा दाषिलाई कडा कारबाही गर्न माग गर्दै प्रदर्शन गरिएको छ ।

शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीहरूले उक्त जघन्य अपराधमा संलग्न व्यक्तिलाई कडा कानुनी कारबाही गर्न तथा यस्ता घटना दोहोरिन नदिन सरकारलाई दबाब दिएका हुन् ।

प्रदर्शनमा सहभागीहरूले इनिसालाई न्याय देऊ, बालिकामाथि हुने बलात्कार, हिंसा र हत्या बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

उनीहरूले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सरकारसँग कडा कानुनी व्यवस्था र प्रभावकारी कार्यान्वयनको मागसमेत गरेका छन् ।

हिजो पनि विकको न्याय माग गर्दै आज पनि काठमाडौंमा विरोध प्रदर्शन भएको थियो ।

त्यसअघि बुधवार पनि दलित अधिकारकर्मीहरूले देशभर दलित समुदायमाथि हुने हिंसा, बलात्कार तथा हत्या घटनाहरू दिनहुँ बढिरहेको भन्दै माइतीघरमा प्रदर्शन गरेका थिए ।

फागुन २३ गते जिल्लाको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी इनिसाको वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् ।

बेहोस फेला लगतै इनिसालाई प्रदेश अस्पताल कालागाउँमा पुर्‍याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

त्यसपछि कक्षा ११ मा अध्ययनरत इनिसाको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै आफन्तले २४ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए ।

उजुरीपछि सुर्खेत प्रहरीले २३ गते दिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो । थप अनुसन्धानका लागि फागुन २४ गते अरु तीन जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

उक्त घटनाको थप अनुसन्धान भने केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले गर्ने भएको छ  । सुर्खेत प्रहरीले बुधाबार उक्त घटनाको थप अनुसन्धानका लागि सीआईबीसँग सहयोग मागेको थियो ।

प्रहरीका अनुसार हालसम्म परिवारजनले बालिकाको शव बुझेका छैनन् ।