काठमाडौं,एजेन्सी-उत्तरपश्चिम नाइजेरियामा डुङ्गा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु हुनाका साथै अन्य छ जना बेपत्ता भएका छन् ।

केब्बी राज्यको कोकोरबेस्से स्थानीय क्षेत्रस्थित नदीमा मङ्गलबार साँझ सो डुङ्गा पल्टिदा उक्त दुर्घटना भएको हो ।  उक्त डुङ्गामा करिब १०० धान किसान सवार थिए जसमध्ये  ८० जनालाई सकुशल उद्धार गरिएको छ।

शुक्रबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति मुहम्मदु बुहारीले दुर्घटनामा परी ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गरेका छन् । साथै बेपत्ता व्यक्तिहरूको खोजीमा खटिएका उद्धारकर्मीहरूको प्रयासको प्रशंसा  समेत गरेका छन् ।

राष्ट्रपतिले विशेषगरी ग्रामीण क्षेत्रमा डुङ्गाको यातायातको उचित नियमनमा बढी ध्यान दिन सरोकारवालालाई आग्रह गरेका छन् ।