काठमाडौं - नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक लामो समयपछि आज बसे पनि त्यहाँ पेस हुने भनिएको प्रतिवेदनका विषयमा कुनै छलफल भएको छैन ।

कार्यदलका संयोजक एवम् उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा पार्टी कार्यालयमा बसेको बैठकमा प्रतिवेदनको विषय प्रवेश नै नभएको कार्यदलका सदस्य यामलाल कडेलले नेपाल प्रेसलाई बताए ।

‘बैठक प्रारम्भ मात्रै भएको हो, अब कार्यदलका साथीहरूले धारणा राख्नुहुन्छ । आजका लागि स्थगित भएको छ । भोलिदेखि निरन्तरता हुन्छ ।  प्रतिवेदनका विषयमा कुनै छलफलले प्रवेश पाएको छैन । आज सामान्य औपचारिकता मात्रै भएको हो’, उनले भने ।

अर्का सचिव महेश बस्नेतले प्रतिवेदन अध्ययनपछि मूल विषयमा छलफल गर्ने गरी आजको बैठक सकिएको र भोलि बेलुका पुनः बैठक बस्ने निर्णय भएको जनाएका छन् ।

कार्यदलका सदस्य सचिव शङ्कर पोखरेलले यसअघि तयार पारेको प्रतिवेदन छलफल नै नभई नेतृत्वलाई बुझाइएको र नेतृत्वको निर्देशनमा पुनः लेखन गरिएको भन्दै आलोचना भइरहेको बेला बसेको कार्यदलको बैठक चासोका साथ हेरिएको छ ।