काठमाडौं - एट्लेटिको मड्रिड स्पेनिस 'कोपा डेल रे' प्रतियाेगिताबाट बाहिरिएको छ । अन्तिम ३२ चरणको खेलमा एट्लेटिको तेस्रो डिभिजनको कल्चरल लियोनेसासँग दुई–एक गाेलले पराजित भयो ।

लियोनेसाको मैदानमा भएको खेलमा एट्लेटिकोले खेलमा एक गोलको अग्रता समेत लिएको थियो । तर अतिरिक्त समयमा लियोनिसा बलियो देखियो । सर्जियो बेनिटोको गोल निर्णायक बन्दा लियोनेसा अन्तिम १६ मा स्थान बनाउन सफल भयो ।

लियोनेसाका गोलकीपर लुकास जिफर्डले उत्कृष्ट प्रदर्शन गरेका थिए । खेलको ६२औँ मिनेटमा एंगल कोरियाले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । ८३औं मिनेटमा लियाेनेसाका जुलेन कास्टानेडाले गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

निर्धारित समय एक–एक गोलको बराबरीमा सकिएपछि आधा घण्टाको अतिरिक्त समय थप गरिएको थियो । १०८औँ मिनेटमा सर्जियो बेनिटोले उत्कृष्ट भलिमार्फत गोल गरेपछि एट्लेटिको स्तब्ध बन्यो ।