चन्द समूहसँग वार्ताका लागि गृहमन्त्री थापाको नेतृत्वमा २ सदस्यीय टोली गठन
काठमाडौं - नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ।
गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताएका छन्। बुधबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी वार्ता टोली गठन गरिएको जानकारी दिएका हुन्।
सरकारले नेकपासँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको हो। गृहमन्त्री थापाको नेतृत्वमा गठन भएको टोलीमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई सदस्य रहेका छन्।
यसअघि सरकारले वार्ता टोली गठन गरेको भए पनि नेकपा वार्ताका लागि तयार भएको थिएन। सरकारले दाेस्राे पटक वार्ता टाेली गठन गरेकाे हाे। अहिले भने नेकपा पनि वार्ता गर्न तयार भएकाे हाे।
नेकपा महासचिव चन्दले पनि ८ फागुनमा विज्ञप्ति जारी गरी क्रान्ति राष्ट्र, समाज, अग्रगामी रूपान्तरण एवं जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल भएको जिकिर गर्दै जनतामा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ताको लागि तयार रहेको बताएका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस