काठमाडौं - सम्भावित भारी वर्षा, बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईले देशभरका स्वास्थ्य निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ।
जल तथा मौसम विज्ञान विभाग तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त जानकारीअनुसार आगामी कात्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न स्थानमा चट्याङ, हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
सम्भावित विपद्बाट हुन सक्ने क्षति न्यूनीकरण गर्न स्वास्थ्य सेवा र प्रतिकार्य क्षमता तयारी अवस्थामा राख्न इकाईले आग्रह गरेको हो।
इकाईले सातै प्रदेशका प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई पत्राचार गर्दै आवश्यक स्वास्थ्य सेवा, जनशक्ति र स्रोतसाधनको तयारी सुनिश्चित गर्न भनेको छ।
इकाईका प्रमुख डा। हेमन्त चन्द्र ओझाद्वारा जारी पत्रमा प्रत्येक प्रदेशमा चौबिसै घण्टा सम्पर्कमा रहने एक जना आपतकालीन सम्पर्क व्यक्ति तोक्न, उनको सम्पर्क विवरण इकाईमा उपलब्ध गराउन र सार्वजनिक गर्न निर्देशन दिइएको छ।
त्यसैगरी, हब तथा स्याटेलाइट अस्पताल सञ्जालसँग समन्वय गरी आकस्मिक चिकित्सकीय टोली ९ईएमटी० सहित आवश्यक स्वास्थ्य जनशक्तिलाई तयारी अवस्थामा राख्न भनिएको छ।
स्वास्थ्य क्षेत्रका साझेदार निकायसँग समन्वय गरी उपलब्ध जनशक्ति, औषधि, स्वास्थ्य सामग्री, उपकरण, एम्बुलेन्स तथा अन्य स्रोतसाधनको विवरणसमेत अद्यावधिक गर्नुपर्नेछ।
सम्भावित विपद्का बेला घाइते तथा प्रभावित नागरिकलाई समयमै उपचार उपलब्ध गराउन प्रदेशमा रहेका एम्बुलेन्स प्रेषण केन्द्रसँग निरन्तर समन्वय गर्न इकाईले आग्रह गरेको छ। एम्बुलेन्स सेवाको सहज, शीघ्र र प्रभावकारी परिचालन सुनिश्चित गर्न पनि निर्देशन दिइएको छ।
विपद्का कारण स्वास्थ्य सेवामा अवरोध हुन नदिन आवश्यक जनशक्ति र स्वास्थ्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न तथा प्रभावित क्षेत्रमा तत्काल प्रतिकार्य टोली परिचालन गर्नुपर्नेमा इकाईले जोड दिएको छ।

.gif)


