काठमाडौं - निर्वाचन प्रहरीको पोशाक खरिदमा भ्रष्टाचार भएको आरोपबारे छानबिन गर्न गठित संसदीय उपसमितिले कात्तिक ३० गतेसम्म कागजात अध्ययन गर्ने भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाको संयोजकत्वमा गठित सार्वजनिक लेखा समितिअन्तर्गतको नौ सदस्यीय उपसमितिको बिहीबार बसेको दोस्रो बैठकले कार्यादेश स्वीकृत गरेको हो।

संयोजक झाले प्राप्त कागजात अध्ययनका लागि कात्तिक ३० गतेसम्मको समय छुट्याइएको जानकारी दिए। यस अवधिमा थप प्रमाण माग गर्ने, बयानका लागि बोलाउनुपर्ने व्यक्तिको सूची तयार गर्ने र सम्बन्धित पक्षसँग सोधिने प्रश्न तय गर्ने काम हुनेछ।

उपसमितिले आवश्यकताअनुसार बहालवाला तथा अवकाशप्राप्त अधिकारीलाई समेत बयानका लागि बोलाउने तयारी गरेको छ।

कार्यतालिकाअनुसार मंसिर १ देखि १५ गतेसम्म पोशाक खरिदमा संलग्न सम्बन्धित पक्ष, विज्ञ तथा जिम्मेवार अधिकारीसँग बयान, अन्तर्वार्ता र छलफल गरिनेछ। मंसिर १६ देखि २० गतेसम्म प्रतिवेदन लेखनका लागि समय छुट्याइएको संयोजक झाले बताए।

निर्वाचन प्रहरीको पोशाक खरिदमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भ्रष्टाचार गरेको आरोपसहित सार्वजनिक लेखा समितिमा उजुरी परेको थियो।

उक्त उजुरीमाथि अध्ययन तथा छानबिन गर्न समितिले झाको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको हो।उपसमितिलाई अध्ययनका लागि दुई महिनाको समयसीमा तोकिएको छ।