इलाम - इलाम-२ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा रास्वपा उम्मेदवार मिलन लिम्बूसहित १६ जनाको जमानत जफत भएको छ ।

रास्वपा उम्मेदवार लिम्बू, एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई, राप्रपा उम्मेदवार लक्ष्मी गुरुङ र मंगोल नेसनल अर्गनाइजेसनका उम्मेदवार मनिबहादुर लिम्बूसहित १६ जनाको जमानत जफत भएको हो ।

आफ्नो क्षेत्रमा खसेको मतमध्ये कुल सदर मतको १० प्रतिशत मत नकटाउने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था रहेको छ ।

इलाम-२ मा ६९ हजार ३ सय ७४ मत खसेकोमा ६८ हजार ४ सय ७२ मत सदर भएको थियो । त्यसअनुसार धरौटी जोगाउन कम्तीमा ६ हजार ८ सय ४७ मत ल्याउनुपर्थ्यो ।

रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत मात्र प्राप्त गरे । इलाम-२ मा एमालेका सुहाङ नेम्बाङ २७ हजार ७ सय ७२ मतसहित विजयी भए । त्यस्तै उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत ल्याए ।

तेस्रो स्थानमा रहेका पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ११ हजार ४ सय ५७ मत ल्याए । यी तीनबाहेक सबै उम्मेदवारको धरौटी जफत भएको हो ।