काठमाडौं,एजेन्सी - घरेलु टिम भारतविरुद्धको दोस्रो एकदिवसीय खेलमा इंग्ल्यान्डले सशज जित हात पारेको छ । गएराति भएको खेलमा  इंग्ल्यान्डले भारतमाथि ६ विकेटको सहज जित हात पारेको हो । 

भारतले दिएको ३३७ रनको लक्ष्य छ्यिाएको इंग्ल्यान्डले ४३ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्न सफल भयो । इंग्ल्यान्डको जितमा जोनी बेयरस्टो र बेन स्टोक्सले उत्कृष्ट ब्याटिङ गरे । बेयरस्टोले १ सय २४ रनको शतकीय इनिङ्सको योगदान गरे । स्टोक्स भने १ रनबाट शतकमा चुके । ५२ बलको सामना गरेका उनले ९९ रनको अर्धशतकीय इनिङ्स खेले । 

यस्तै, जासन रोयले ५५ रनको अर्धशतकीय इनिङ्स खेल्दा  लियाम लिभिङस्टोनले २७ रन र डाविड मालनले अविजित १६ रन जोडे । बलिङमा भारतका प्रसिद्ध कृष्णाले २ विकेट लिए भने भुवनेश्वर कुमारले १ विकेट हात पारे। 

त्यसअघि महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम पुणेमा टस हारेर ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ३६ रन बनाएको थियो ।  भारतका लागि केएल राहुलले १०८ रनको शतकीय इनिङ्स खेले । यस्तै, ऋषव पन्तले ७७ रनको अर्धशतकीय र कप्तान विराट कोहलीले ६६ रनको अर्धशतकीय इनिङ्स खेल्दा हार्दिक पाण्डय ३५ रन तथा रोहित शर्मा २५ रनमा आउट भए । 

बलिङमा इंग्ल्यान्डका टम करण र रिसी टोपलीले २–२ विकेट लिए । साम करणको नाममा १ विकेट रह्यो ।  जितसँगै इंग्ल्यान्डले ३ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ ।