नागरिकताले रोक्यो वकिल बन्ने धोको
सुर्खेत - कल्पनाकुमारी तामाङलाई वकिल बनेर असहायको सेवा गर्ने ठूलो धोको छ। उनले सुर्खेतको अमरज्योति माविबाट एसईई उत्तीर्ण गरिन्। नेपालगन्जस्थित धम्बोझी माविबाट कानुनमा ७० प्रतिशत अंक ल्याएर १२ कक्षा पास गरिन्।
गत महिना मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा सञ्चालित कानुन स्नातकको प्रवेश परीक्षामा सयौं प्रतिस्पर्धीलाई उछिन्दै उनी पाँचौं नम्बरमा नाम निकाल्न सफल भइन्।
पढाइमा मेधावी यी छात्रालाई अब एउटै समस्या छ– त्यो हो नागरिकता। नागरिकता नपाउँदा उनले धेरै अवसर गुमाएकी छन्। काम गर्ने अवसर गुम्दा उनलाई पढाइ खर्च जुटाउन कठिन भइरहेको छ।
‘उच्चशिक्षा हासिल गरेर सरकारी सेवामा प्रवेश गर्ने लक्ष्य छ। नागरिकता नहुँदा धेरै अवसरबाट वञ्चित छु’, तामाङले भनिन्, ‘नागरिकता नभएकै कारण लोकसेवाको परीक्षा दिन पाएकी छैन।’
सुर्खेतको चौकुने गाउँपालिकाको बिजौरीमा २०५५ भदौ ११ गते जन्मिएकी कल्पनाका बा रामबहादुर तामाङ २०५९ कात्तिक १० गते र आमा लक्ष्मी २०६६ पुस २० गते संसारबाट बिदा भए।
आफन्त भनेका उनका भाइ नाता पर्ने नरेश तामाङ मात्रै छन्। नागरिकताविहीन नरेश बैङ्लोरस्थित एक होटेलमा काम गरिरहेका छन्। कल्पनालाई नरेशले नै खर्च पठाइदिन्छन्।
अन्नपूर्णबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस