काठमाडौं - नेकपा प्रचण्ड-नेपाल पक्षका नेता रघुजी पन्तको विवादास्पद अभिव्यक्तिप्रति सांसद कोम वलीले गम्भीर आपत्ति प्रकट गरेकी छिन् । 

आइतबार सामाजिक सञ्जालमार्फत सांसद वलीले ‘महिलाहरुले प्राप्त गर्ने पदहरु पिंडुला देखाएर भन्ने’पन्तले प्रयोग गरेका शब्दहरुले आमा दिदीबहिनी सबैलाई अपमान गरेको बताएकी हुन् । उनले नेता पन्तको मानव बिकासका क्रममा बन्ने तन्तु हरु विचैमा रोकिएको जस्तो छ पनि भनेकी छन् । उनले नेता पन्त दरिद्र सोचको सिकार भएको पनि बताएकी छन् ।

‘हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदाे रहेछ भन्ने बल्ल आएर खुलेकाे छ । पन्तजीलाई मेराे प्रश्न : तपाईकाे पार्टीमा कुनै पदमा रहनु भएका महिला नेतृहरुले काे कसलाई पिंडुला देखाएर त्याे स्थानमा पुग्नु भएकाे हाे ? के याे देशमा महिलाले कुनै काम गर्न, कुनै पदमा पुग्न र सफलता हासिल गर्न तपाईकाे जस्ताे दरिद्र साेचकाे सिकार हुनुपर्छ ? ’उनले लेखेकी छन्,‘पुर्वीया दर्शन देखि मानव विकासमा महिलाको उच्च सम्मान समाजको कसिमा उत्तीर्ण भएर भएको छ । प्रकृतिले नै महिला र पुरुषको समायोजन गरेको हो । एकअर्काको आदर सम्मान विना समाजमा न्याय समानता र विवेकशीलताको अन्त हुन्छ । समाज हिंसा तिर जान्छ र दया करुणा जस्ता कुरा हराउँछन् । तसर्थ एकले अर्कालाइ सम्मान गर्नु जीवनलाई मर्यादित र सरल बनाउनु हो । तर नेकपाका नेता रघु पन्तले महिलाहरुले प्राप्त गर्ने पदहरु पिंडुला देखाएर भन्ने जुन अभिव्यक्ति दिनुभएको छ वहाँको मानव बिकासका क्रममा बन्ने तन्तु हरु विचैमा रोकिएको जस्तो  छ । वहाँले प्रयोग गर्ने शव्दहरुले आफ्नो आमा दिदीबहिनी सबैलाई अपमान गरेको छ ।  विवेक हिन मानिसको आलोचना ले आफैलाई आलोचित गर्दछ यस्ता  व्यक्तिले नेतृत्व गरेका राजनीतिक पार्टी र समाजको दुर्घटना कति टाढा होला ?’

 पन्तले के भनेका थिए ?

‘अहिले महिलाहरू पनि केपीतिर पनि लागेका छन् । २० औँ वर्ष ज्यानै दिएर यो पार्टीमा लागेका महिलाहरू पनि छन् । तर, तिनले टिकट पनि पाएनन् । तिनले राष्ट्रियसभा पनि पाएनन् । केपी ओलीले केरे कोमल वलीले यसो सारी सरक्क सर्काएर गोरा पिंडुला देखाउँदै पोइल जान पाँउ भनेपछि सांसद त तिनैले पाइन् ।’एक कार्यक्रममा मन्तव्य व्यक्त गरिरहँदा पन्तले भनेका थिए, ‘कपाल फूलेर चाउरी परेका बुढी कामरेडहरू न राष्ट्रियसभाको सदस्य हुन पाएका छन् केन्द्रीय कमिटी सदस्य हुन पाएका छन् । उनी राष्ट्रिय सभाको सदस्य पनि भइन् केन्द्रीय कमिटी सदस्य भइन् ।’