काठमाडौं - नेकपा एमालेमा एकताका लागि प्रयासरत कार्यदलले औपचारिक रूपमा आज एकताको घोषणा हुने बताएका छन् । कार्यदल ब्युँतिएको एक साता पुग्दासम्म निष्कर्षमा पुग्ने बताइरहे पनि एकता घोषणा भने हुन सकेको छैन । 

कार्यदलले शनिबार नै एकता घोषणा गर्ने बताएको थियो तर, केही प्राविधिक विषयमा छलफल गर्नुपर्ने भएकाले थप छलफल गरेर आइतबार एकता घोषणा हुने एमाले सचिव तथा कार्यदल सदस्य गोकर्ण विष्टले जानकाारी दिए । ‘औपचारिक र अनौपचारिक रूपमा हामीले धेरै विषय मिलाइसकेका छौं, केही मिल्न बाँकी विषयमा समेत सहमतिनजिक पुगेकोले शनिबार सुखद समाचार घोषणा गर्न सकेनौं, आज एकताको सुखद समाचार सुन्नुहुनेछ ।’ विष्टले भने । 

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल अदालतको फैसलाअनुसार अघि बढ्ने, २ जेठ २०७५ कै अवस्थाबाट पार्टी र जनवर्गीय संगठन सञ्चालन, एमाले प्रवेश गरेका पूर्वमाओवादी केन्द्रका नेतालाई पार्टीमा सम्मानसाथ जिम्मेवारी दिइने विषयमा सहमत छन् । तर, केन्द्रीय कमिटी संख्यामा भने अझै विवाद मिल्न नसकेको स्रोतको दाबी छ । 

माओवादी केन्द्रसँग पार्टी एकीकरण हुनुअघि एमालेको केन्द्रीय कमिटी २४१ सदस्यीय थियो । नवौँ महाधिवेशनबाट निर्वाचित २०३ जनाको केन्द्रीय कमिटीमा अध्यक्ष ओली र नेपाल पक्ष दुवैले २०७५ जेठ ३ गते एमालेको अन्तिम केन्द्रीय कमिटी बैठक बसेर ३८ जना केन्द्रीय सदस्य थपेर २४१ सदस्यीय बनाएका थिए । एकता गर्ने दिन थपिएका ३८ जनामा बहुमत नेता ओली पक्षका थिए । त्यसैले तीसहितको कमिटी ब्युँताउँदा ओली पक्षका नेताहरूको केन्द्रीय कमिटीमा बाहुल्य हुन्छ । यो कुरा नेपाल पक्षले रुचाएको छैन ।