काठमाडौं - २०औँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानको आइची प्रिफेक्चर र नागोया सहरमा औपचारिक रूपमा सुरु हुँदैछ। प्रतियोगिता अक्टोबर ४ अर्थात् असोज १८ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगिताको उद्घाटन समारोह नागोया सिटी मिजुहो पार्क एथलेटिक खेल मैदानमा स्थानीय समयअनुसार आज साँझ ६ बजे हुनेछ। केही खेल भने उद्घाटनअघि नै सुरु भइसकेका छन्।

नेपालबाट १३५ खेलाडी

एसियाली खेलकुदमा नेपालबाट २१ खेलमा १३५ खेलाडी सहभागी हुँदैछन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताका अनुसार टोलीमा ५७ महिला र ७८ पुरुष खेलाडी छन्। प्रशिक्षक, व्यवस्थापक, प्राविधिक तथा मेडिकल प्रतिनिधिसहित नेपाली टोलीमा २११ जना रहनेछन्।

नेपालबाट कबड्डीमा सबैभन्दा बढी २४ खेलाडी सहभागी हुँदैछन्। त्यसपछि क्रिकेटमा १५, भलिबलमा १२, उसुमा १०, करातेमा आठ र बक्सिङमा सात खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

यसैगरी एथलेटिक्स, जुडो, टेबलटेनिस र कुस्तीमा छ-छ तथा पौडी र टेनिसमा पाँच(पाँच खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् । यस्तै ब्याडमिन्टन, गल्फ र सफ्ट टेनिसमा चार-चार, तेक्वान्दोमा तीन तथा आर्चरी, साइक्लिङ, र्‍याफ्टिङ एण्ड क्यानोइङ, स्केट एण्ड स्केट बोर्डिङ र स्क्वासमा दुई(दुई खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

उद्घाटन समारोहमा बक्सिङका चन्द्रबहादुर थापामगर र कबड्डीकी मानमती विष्टले नेपालको राष्ट्रिय झण्डा बोक्नेछन्।

नेपालले यसपटक स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्य राखेको छ। प्रतियोगितामा ४३ खेल समावेश छन् भने ४५ देश तथा क्षेत्र र एक शरणार्थी टोलीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।