काठमाडौं,एजेन्सी - च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सले डायनामो किभमाथि सहज जित हात पारेको छ ।

बुधबार भएको समूह जीको खेलमा सिरि ए च्याम्पियन युभेन्ट्सले डायनामो किभलाई ३–० गोल अन्तरले हराएको हो ।

खेलको २१ औं मिनेटमा चिसाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । ५७ औं मिनेटमा रोनाल्डोले गोल गर्दै अग्रता दोब्बर बनाए । यससँगै रोनाल्डोले करियरको ७ सय ५० गोल पुरा गरेका छन् ।

मोराटाले ६६ औं मिनेटमा गोल गर्दै युभेन्ट्सको जित सुनिश्चित गरे । किभको समूह चरणमा मात्र एक अंक रह्यो । शीर्ष क्लब बार्सिलोनाको १५ अंक छ । युभेन्ट्स १२ अंक सहित दोस्रो स्थानमा छ ।

समूहको चरणको अन्तिम खेलमा अर्को हप्ता बार्सिलोना र युभेन्ट्स भिड्नेछन् । सोही नतिजाले समूह चरणको विजेता टोलीको टुङ्गो लगाउनेछ । बार्सिलोना र युभेन्ट्स अघिल्लो चरणमा पुगिसकेका छन् ।