काठमाडौं,एजेन्सी - कप्तान लियोनेल मेस्सी चम्किँदा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित हात पारेको छ । गएराति भएको खेलमा बार्सिलोनाले हुयस्कालाई ४१ले पराजित गरेको हो ।  

खेलको १३औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । ३५औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । पहिलो हाफको इन्ज्युरी समयमा राफा मिरले पेनाल्टीमार्फत गोल गर्दै हुयस्कालाई खेमा फर्काउन कोसिस गरे । 

तर, ५३औं मिनेटमा ओस्कार मिनगुइजाको गोलबाट बार्सिलोना ३-१ले अघि बढ्यो । खेलको ९०औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४–१ को शानदार जित दिलाए । मेस्सीले बार्सिलोनाबाट ७६७ औँ खेलमा सहभागिता जनाएका छन् यससँगै मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने जाभीको कीर्तिमानसँग बराबरी गरेका छन् । 

जितसँगै दोस्रो स्थानमा उक्लिएको बार्सिलोनाले २७ खेलबाट ५९ अंक जोडेको छ । पराजित हुएस्का २० अंक जोडेर पुछारमा छ ।