गण्डकीमा सभामुख पदका लागि आज निर्वाचन हुँदै
काठमाडौं-गण्डकी प्रदेशको सभामुख पदका लागि शनिबार निर्वाचन हुँदैछ ।
सभामुख निर्वाचनका लागि प्रदेशसभाको बैठक दिउँसो ३ बजे बोलाइएको छ । प्रदेशसभाको शुक्रबारको बैठकमा प्रदेशसभाको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेशसभामुख चयन गर्न शनिबार बैठक बोलाएका हुन् ।
गण्डकी प्रदेशमा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) लाई सभामुख दिने सहमति भएको छ । सहमतिअनुसार सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका कृष्णप्रसाद धिताल उम्मेदवार बन्ने भएका छन् ।
प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवार टुंगो लगाइसकेको छैन । कांग्रेस संसदीय दलको बैठकले सभामुखको उम्मेदवार तय गर्ने जिम्मा दलको नेतालाई दिएको छ ।
गण्डकी प्रदेशमा नेकपा (एमाले) ले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी भागबण्डा गरिएको थियो । सोहीअनुसार एमालेका संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर प्रदेशसभाबाट विश्वासको मत पाइसकेका छन् । गण्डकीमा गठबन्धनका पक्षमा बहुमत रहेकाले सभामुखमा पनि गठबन्धनका उम्मेदवार विजयी हुने निश्चित छ ।
६० सदस्य रहेको गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र एक सदस्य छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस