काठमाडौं - काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु छलफलमा जुटेका छन् ।

पछिल्लोसमय बढ्दो कारोना भाइरस संक्रमणको जोखिम तथा नियन्त्रणबारे छलफल तथा निर्णय लिन काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख  जिल्ला अधिकारीको संयुक्त बैठक अहिले बसिरहेको हो । आजको बैठकले उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा लाग्ने सम्भावना देखिएको छ । 

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार सार्वजनिक सवारी, रात्रिकालीन सबै व्यवसाय, होटेल रेस्टुरेन्ट, सार्वजनिक सेवालगायत दर्जनभन्दा बढी क्षेत्रमा निषेधाज्ञा लगाउनेबारे छलफल भैरहेकाे छ । केही बेरपछि तीनवटै प्रशासनले संयुक्त धारणा सार्वजनिक गर्नेछ । 

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले पनि ५ सय भन्दा बढी संक्रमित भएका शहरी जिल्लामा निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरिसकेको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा ५ सयभन्दा बढी संक्रमित छन् ।