काठमाडौं,एजेन्सी - युईएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जित निकालेको छ । गएराति भएको क्वाटरफाइनलको पहिलो लेगमा सिटीले जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई २-१ले पराजित गरेको हो । 

खेलको १९औं मिनेटमा केभिन डि ब्रुयनको गोलबाट घरेलु मैदानमा सिटीले अग्रता लिएको थियो । ८४औं मिनेटमा डर्टमुन्डका कप्तान मार्को रिउसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । तर, ९०औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई २–१ को जित दिलाए ।  

जितसँगै सिटीले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो लेगमा सिटीलाई बराबरीको नतिजा नै पर्याप्त हुनेछ । अप्रिल १४ मा हुने दोस्रो लेग डर्टमण्डको मैदानमा हुनेछ ।