काठमाडौं,एजेन्सी - युईएफए च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल म्याड्रिडले सानदार जित हात पारेको छ । गएराति भएको क्वाटरफाइनलको पहिलो लेगमा रियलले इंग्लिस क्लब लिभरपुललाई ३-१ले पराजित गरेको हो । 

खेलको २७औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्र्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । ३६औं मिनेटमा मार्को एसेन्सियाले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । ५१औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई खेलमा फर्काउने कोसिस गरे । तर, खेलको ६५ औं मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ३-१को जित दिलाए । 

जितसँगै रियलको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । दोस्रो लेग आगामी अप्रिल १४ मा लिभरपुलको मैदानमा हुनेछ ।