काठमाडौं,एजेन्सी - पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो चम्किँदा युभेन्टसले इटालियन सिरी ‘ए’ मा पार्मामाथि सानदार जित हात पारेको छ ।

युभेन्टसले घरेलु टोली पार्मालाई ४–० ले हराएको हो । पार्मामा शनिबार राति भएको खेलमा युभेन्टसको सहज जितमा रोनाल्डोको दुई गोल गरे । डिजान कुलुसेभ्स्की र अल्भारो मोराटाले एक एक गाल थपे ।

खेलको २३औं मिनेटमा एलेक्स सान्द्रोको पासमा डिजान कुलुसेभ्स्कीको गोलबाट युभेन्टसले अग्रता लिएको थियो । त्यसको तीन मिनेटपछि नै २६औं मिनेटमा अल्भारो मोराटाको पासमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

दोस्रो हाफको शुरुमै ४८औं मिनेटमा रोनाल्डोले आरोन राम्सीको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई ३–० ले अघि बढाए । खेल सकिन ४ मिनेटमा बाँकी रहँदा फेडरिको बर्नरडेस्चीको पासमा मोराटाले गोल गर्दै युभेन्टसलाई ४–० को फराकिलो जित दिलाए ।

जितसँगै युभेन्टसले दोस्रो स्थानको इन्टर मिलानसँग अंक बराबरी गरेर तेस्रो स्थानमा रहेको छ । शीर्षस्थानको एसी मिलानको २८ अंक छ । पराजित पार्मा १२ अंकसहित १५औं स्थानमा छ ।