काठमाडौं - पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बाढी प्रभावित नागरिकका लागि नयाँ शहर विकास गर्ने योजना सरकारको रहेको बताएका छन्।

प्रतिनिधिसभाको विकास समिति बैठकमा बोल्दै मन्त्री लम्सालले बाढीले क्षति पुर्‍याएको स्थानमै पुनः बस्ती बसाल्न कठिन हुने भएकाले नयाँ शहर निर्माणको अवधारणामा अघि बढ्ने बताएका हुन् ।।

'अब हामी नयाँ शहर बनाउने अवधारणामा जानेछौँ। भूकम्पभन्दा फरक तरिकाले जानुपर्नेछ। जुन स्थानमा क्षति भएको हो, त्यही स्थानमा फर्काउने योजना छैन,' उनले भने।

उनका अनुसार प्रस्तावित नयाँ शहरमा उद्योग, अस्पताल, विद्यालयलगायत आवश्यक सबै सुविधा उपलब्ध गराइनेछ।

त्यसका लागि आवश्यक जग्गा खरिद गरेर व्यवस्थित बस्ती विकास गर्ने योजना रहेको उनले जानकारी दिए।