काठमाडौं,एजेन्सी - इटालियन सिरी ए मा साविक विजेता युभेन्टस आफ्नै मैदानमा पराजित भएको छ । गएराति भएको खेलमा युभेन्टस बेनेभेन्टोसँग १-०ले स्तब्ध बनेको हो । 

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६९ औं मिनेटमा पाहुना टोलीका लागि अडोल्फो गाइचले गरेको गोल नै निर्णायक बन्यो । खेलमा लगातार आक्रमण बुनेपनि युभेन्टस गोल गर्न नसक्दा हार व्यहोर्न पुग्यो । 

पराजित भएसँगै उपाधि होडमा युभेन्टसलाई ठूलो धक्का लागेको छ । युभेन्टस २७ खेलमा ५५ अंकसहित तेस्रो स्थानमा छ । शिर्षस्थानको इन्टर मिलानले समान खेलमा ६५ अंक जोडेको छ । 

यस्तै, अर्को खेलमा  एसी मिलानले फियोरेन्टिनामाथि ३-२को संघर्षपूर्ण जित निकालेको छ । जितसँगै दोस्रो स्थानमा रहेको मिलानले २८ खेलमा ५९ अंक जोडेको छ । पराजित फियोरेन्टिना २९ अंक जोडेर १४ औं स्थानमा छ